Biratnagar, Morang, Nepal
देश

अनुशासनहीनता तर्फ उन्मुख हाम्रो समाज

-
अखवारका कुरा
३० असोज २०८३, शुक्रवार

Advertisement

सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप सञ्चालन गर्नु अर्थात कसैको दवाव र करकाप विना आफ्नो कर्तव्य र सामाजिक नियमको पालना गर्नु, देश काल परिस्थिति बुझेर सामाजिक मर्यादामा रहनु नै अनुशासन हो । त्यसैले अनुशासन व्यक्तिको अमूल्य आभूषण हो भन्दा फरक पर्दैन । 

प्रज्ञा नेपाली शब्दकोष अनुसार, सामाजिक, नैतिक, धार्मिक आदि नियमको मर्यादा वा सो मर्यादा भित्र रहने कार्य अनुशासन हो । 

यसको विपरीत हाम्रो समाज अनुशासनहीन, छाडा र अराजकतातर्फ उन्मुख हुँदै गइरहेको देखिन्छ । मुख्यगरी अनुशासन सिक्ने ठाउँ भनेको घर परिवार, स्कूल र कलेजहरु नै हुन । तर विडम्बना ती ठाउँहरु नै आज अनुशासनहीनताको चपेटामा परेका छन । आफूभन्दा ठूला मान्छेहरु बाबुआमा गुरु बर्गहरुलाई मान्नुपर्छ, सम्मान गर्नुपर्छ, झूठो बोल्नु हुँदैन, चोरी गर्नु हुँदैन भन्ने मान्यताहरु कमजोर हुँदै गएको छ । यो सभ्य समाजको परिचायक होइन तर हाम्रो वर्तमान ठीक त्यसको उल्टो छ । आज बाबुआमा आफ्नै सन्तानबाट दुव्र्यवहारमा परेका छन, शिक्षकहरु विद्यालय प्राङ्गणमै कुटिएका छन, जो रक्षक उही भक्षक भनेझैं स्कूल परिसरमै छात्राहरु यौन दुव्र्यवहार र हिंसामा परेका छन । किशोर किशोरीहरु यौन र लागू पदार्थको दुव्र्यसनमा फसेको अवस्था छ ।

एउटा धर्म, सम्प्रदाय र जातीले अर्को धर्म सम्प्रदाय र जातीप्रति गरेको घटिया र घृणित कटाक्ष देख्दा लाग्छ समाज द्रुत गतिमा छाडाबादतर्फ उन्मुख भइसकेको छ । धार्मिक सामाजिक र सांस्कृतिक कृत्यहरुमा पनि अनावश्यक कचिङ्गलले सामाजिक सञ्जाल रंङ्गीएको अवस्था छ । मैंले अनुसरण गरेको धर्म राम्रो, तेरो धर्म नराम्रो, मेरो ईश्वर ठीक तेरो ईश्वर खराव, भन्दा भन्दा अब त देवताको मूर्तिमा पनि तेरो मेरो र तँछाड मछाड चलेको छ । यी सबै कर्महरु असंयमता, अनुशासनहीनता र विवेकहीनताको पराकाष्ठा हो । यस्तै अराजक, छाडा र अनुशासनहीन गतिविधिहरु बेलैमा नियन्त्रण नगर्ने हो भने परिस्थिति झनै गम्भीर र भयावह बन्ने निश्चित छ । 

समाज अनुशासनहीन बन्दै जानुका कारणहरूमा ः घर–परिवार र विद्यालयहरूमा संस्कार, नैतिकता र अनुशासनसम्बन्धी व्यावहारिक शिक्षाको अभाव, प्रविधि र सामाजिक सञ्जालको अनियन्त्रित रुपमा बढेको दुरुपयोग । पारिवारिक र सामाजिक मूल्य–मान्यताको ह्रास ः आफ्ना सन्तान र विद्यार्थीहरु प्रति अभिभावक र शिक्षकले दिने समय र हेरचाहमा कमी । राजनीतिक अस्थितरता र दण्डहीनताः कानूनी शासनको अभाव, कानूनको फितलो कार्यान्वयन, राजनीतिक संरक्षणका कारण गलत काम गर्नेले सजाय व्योहर्नु नपर्ने अवस्था । उपभोक्तावादी संस्कृति र भौतिकवादः छिटो धनी बन्ने, अरुले घोडा चढ्यो भनेर धुरी चढ्ने र देखासिकी गर्ने प्रवृत्ति साथै सत्कर्म र कुकर्मका बीचको भिन्नता छुट्याउन नसक्नु आदि कारणहरुले समाज अनुशासनहीन बन्दै गइरहेको छ । मातृ देवो भव ः पितृ देवो भव ः गुरुदेवो भवः भन्ने उपनिषदले सिकाएको आदर्श, मान्यताहरु आज हराउँदै गएका अवस्था छ ।

समाधान के त ? 

समाजलाई अनुशासित र सभ्य बनाउन राजनीतिक सामाजिक र पारिवारिक सबै पक्षको सत्प्रयासको आवश्यक छ । घर र विद्यालयबाट सुरुवात– बालबालिकालाई सानैदेखि अनुशासन, आदर र नैतिक मूल्य–मान्यता सिकाउने । पाठ्यक्रममा पनि नैतिक शिक्षालाई अनिवार्य गराउनु जरुरी भैसकेको छ । सबल कानुनी व्यवस्था र दण्डहीनताको अन्त्य– कानुनको नजरमा सबै समान हुनुपर्छ । अपराध गर्ने जोसुकै होस दोषीलाई बिनाभेदभाव कडा कारबाही गरिनुपर्छ । सामाजिक सञ्जालको मर्यादित प्रयोग–सामाजिक सञ्जाल र इन्टरनेटको सही तथा मर्यादित प्रयोगबारे सचेतना फैलाउने, दुरुपयोग हुनै नदिने । राजनीतिज्ञ, शिक्षक, अभिभावक र समाजका अगुवाहरूले स्वयं अनुशासित भएर उदाहरण प्रस्तुत गर्ने हो भने अनुशासनहीन कार्यहरु धेरै हदसम्म रोकिन सक्छ । 

अनुशासन सिकाउने भनेकै विद्यार्थी जीवनमा नै हो । यस अवस्थामा सिकाइने अनुशासनले मानिसको भविष्य निर्धारण गर्छ । सानै उमेरदेखि अनुशासित बन्नाले संयम, नम्रता र दायित्वबोधजस्ता सकारात्मक गुणहरूको विकास हुन्छ । त्यसैले विद्यार्थीका लागि कडा अनुशासन आवस्यक पर्छ । चाणक्यका अनुसार अध्ययन गर्ने उमेरमा सुख–सुविधा र आलस्य खोज्नु पनि अनुशासनहीनता हो ।

कामं क्रोधं तथा लोभं स्वादु शृङ्गारकौतुके । अतिनिद्रामतिसेवा च विद्यार्थी ह्यष्ट वर्जयेत् ।।

चाणक्य नीति – अध्याय ५, श्लोक ६ मा भनिएको छ ः काम (वासना), क्रोध, लोभ, जिब्रोको स्वाद (अनावश्यक खानपान), भड्किलो शृङ्गार, मनोरञ्जन÷उत्सुकता, धेरै निद्रा र अरूको धेरै सेवा गर्नु , यी आठ कुराहरू विद्यार्थीले पूर्ण रूपमा त्याग गर्नुपर्छ । आचार्य चाणक्यका अनुसार अनुशासनहीनता र अकर्मण्यता नै मानिसको पतनका प्रमुख कारण हुन् । 

आचारः परमो धर्मः आचारः परमं तपः । आचारः परमं ज्ञानम् आचारात्किं न साध्यते ।। ( महाभारत )

सदाचार (अनुशासित आचरण) नै परम धर्म हो, आचार नै परम तपस्या हो र आचार नै श्रेष्ठ ज्ञान हो । अनुशासित र सदाचारी आचरणबाट के कुरा प्राप्त गर्न सकिँदैन र ? (अर्थात् सबै कुरा सम्भव छ) । भनेर महभारतमा भनिएको छ । 

१. अनुशासनको महत्व ः

अनुशासन सिक्ने थलो भनेको पहिलो घर र दोस्रो स्कूल नै हो । विद्यार्थी जीवनलाई सम्पूर्ण जीवनको आधारशिला मानिन्छ । यस अवस्थामा अपनाइने अनुशासनले मानिसको भविष्यको दिशा निर्देष गर्दछ ।

विद्यार्थी अवस्थामा अपनाइने अनुशासनले मानिसको भविष्य को दिशा तय गर्दछ । चरित्र निर्माण–सानै उमेरदेखि अनुशासित बन्नाले संयम, नम्रता र दायित्वबोधजस्ता सकारात्मक गुणहरूको विकास हुन्छ । आदर्श नागरिकको आधार–अनुशासित विद्यार्थी नै भोलि गएर देशको जिम्मेवार र नियम–कानुन मान्ने सभ्य नागरिक बन्दछ । चरित्र निर्माण–सानै उमेरदेखि अनुशासित बन्नाले संयम, नम्रता र दायित्वबोधजस्ता सकारात्मक गुणहरूको विकास हुन्छ । आदर्श नागरिकको आधार– अनुशासित विद्यार्थी नै भोलि गएर देशको जिम्मेवार र नियम–कानुन मान्ने सभ्य नागरिक बन्दछ ।

अन्त्यमा, अनुशासन व्यक्तिको मात्र होइन, परिवार, समाज र राष्टको विकासका लागि पनि त्यत्तिकै आवस्यक छ । सफल जीवनका लागि अनुशाससन सबैभन्दा महत्वपूर्ण मानवीय गुण हो । यसले जिम्मेवारी धैर्यता र आत्म नियन्त्रण पनि सिकाउँछ । अनुशासन विना सुख शान्ति र समृद्धिको परिकल्पना व्यर्थ हुन्छ । त्यसैले हामी सबैले अनुशासनलाई जीवनको अभिन्न अंग बनाएर व्यक्तिगत सामाजिक र राष्टिय विकासमा योगदान दिन सक्नु पर्छ । प्रत्येक नागरिकको कर्तव्य हो, समाजलाई छाडा र अराजक बन्न बाट रोक्ने । सरोकारवालालाई चेतना होस  ।

 

View : 24

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved