ईटहरी– टंकिसिनवारी जेसीजका पूर्व अध्यक्ष राघव कोईरालाले आउँदो डिसेम्बर २१, २२ र २३, २०२४ मा ईटहरीमा आयोजना हुने नेपाल जेसीज राष्ट्रिय महाधिवेशन २०२५ का लागि राष्ट्रिय उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
नेपालभरका १७८ च्याप्टरका सदस्यहरू, पूर्व राष्ट्रिय अध्यक्षहरू, तथा पुराना सदस्यसहित ५,००० भन्दा बढी प्रतिनिधिको सहभागिता रहने यो महाधिवेशन एक ऐतिहासिक भेला हुने अपेक्षा गरिएको छ।
टंकिसिनवारी जेसीजका हालका अध्यक्ष जोनसन माझीले भने, “हाम्रो सधैंको सपना टंकिसिनवारी जेसीजबाट नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष बनाउनु हो। अहिले हामी एक कदम अघि बढ्दै राष्ट्रिय उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका छौँ। यस पदमा विजयी भएपछि हाम्रो अर्को लक्ष्य भनेको राष्ट्रिय अध्यक्षतिरको यात्रा हुनेछ।”
राघव कोईराला टंकिसिनवारी जेसीजको चौथो सदस्य हुन् जसले राष्ट्रियस्तरको नेतृत्वको उम्मेदवारी दिएका छन्। सन् २०२२ मा नेपालिज यङ्ग इन्टरप्रेन्योर्स फोरम (NYEF) विराटनगर च्याप्टरका अध्यक्षको रूपमा उनले सफल नेतृत्व प्रदान गर्दै व्यवसायिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका थिए।
“उद्यमशीलताको सशक्तीकरण, नेतृत्वको प्रेरणा” भन्ने नाराका साथ अघि बढेका जेसी राघव कोईरालाले नेपालको युवालाई उद्यमशील बनाउँदै नेतृत्व क्षमताको विकास गर्ने आफ्नो उद्देश्य प्रस्तुत गरेका छन्।
ईटहरी महाधिवेशनले नेपाली जेसीजको भावी नेतृत्वको खाका कोर्नेछ। टंकिसिनवारी जेसीजका सदस्य र समर्थकहरूले राघव कोईरालालाई विजयी गराउँदै टंकिसिनवारीको सपना साकार पार्न सम्पूर्ण ऊर्जा केन्द्रित गरिरहेका छन्। राष्ट्रिय उपाध्यक्ष पदमा उनको जितले टंकिसिनवारी जेसीजको लागि मात्र होइन, सम्पूर्ण जेसीज समुदायका लागि गौरवको क्षण हुने विश्वास गरिएको छ।
View : 88
Copyright © 2023 -2024. Akhabar ka kura | News. All Rights Reserved