विराटनगर : विराटनगरको धार्मिक, ऐतिहासिक र सांस्कृतिक पहिचानलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित विराटनगर महानगरपालिका-१० मा भव्य ‘श्री संसारीमाई दिव्यधाम’ निर्माण हुने भएको छ। करिब १७ करोड रुपैयाँको लागत अनुमान गरिएको यो महत्त्वाकांक्षी परियोजना दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ।
संसारीमाई स्थान संरक्षण समितिको अगुवाइमा निर्माण हुन लागेको दिव्यधामको औपचारिक शिलान्यास तथा भूमिपूजा आगामी मंसिर २३ गते बुधबार बिहान ९:२७ बजेको शुभ साइतमा गरिने भएको छ। यस धामलाई कोशी प्रदेशकै प्रमुख आध्यात्मिक केन्द्र तथा धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने गुरुयोजना अघि सारिएको छ।
समितिका सचिव रेवतबहादुर कार्कीका अनुसार यो अभियान केवल भौतिक मन्दिर निर्माणमा मात्र सीमित रहनेछैन। ऐतिहासिक सम्पदाको संरक्षण, सनातन धर्म–संस्कृतिको प्रवर्द्धन र विराटनगरको धार्मिक पर्यटनमा टेवा पुर्याउने बृहत्तर सोचका साथ परियोजना सुरु गर्न लागिएको हो।
‘हामी स्पष्ट गुरुयोजना र संकल्पका साथ अघि बढेका छौं,’ सचिव कार्कीले भने, ‘पहिलो चरणमा विभिन्न देवीदेवताका कलात्मक मूर्तिसहितको मुख्य दिव्यधाम निर्माण गरिनेछ। त्यसपछि दोस्रो चरणअन्तर्गतका अन्य पूर्वाधारका काम अघि बढाइनेछ।’
दिव्यधाम निर्माणका लागि दाताहरूबाट उत्साहजनक सहयोग जुट्ने क्रम जारी छ। समितिका अनुसार हालसम्म ४ जना दाताले जनही ७५ लाख, ६ जनाले ५१ लाख, ९ जनाले २५ लाख, १५ जनाले ११ लाख, २५ जनाले ५ लाख र ३ सय १ जनाले १ लाख २५ हजार रुपैयाँ सहयोग प्रदान गरिसकेका छन्।
ऐतिहासिक धरोहरको संरक्षण गर्दै भावी पुस्तासम्म यसको गरिमा हस्तान्तरण गर्ने यस महाअभियानमा जोडिन समितिले सम्पूर्ण श्रद्धालु भक्तजन, स्थानीयवासी, उद्योगी–व्यवसायी तथा धर्मानुरागीहरूमा आर्थिक, भौतिक र नैतिक सहयोगका लागि अपिल गरेको छ।
View : 56
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved