Biratnagar, Morang, Nepal
खेलकुद

युनाइटेडलाई ४३ रनले हराउँदै विराट क्रिकेट एकेडेमीले जित्यो मैत्रीपूर्ण सिरिज

-
अखवारका कुरा
४ कार्तिक २०८३, मङ्गलवार

Advertisement

 

बिर्तामोड । विराटनगरको विराट स्पोर्ट्स जोन विराट क्रिकेट एकेडेमीले झापाको युनाइटेड क्रिकेट एकेडेमीविरुद्धको मैत्रीपूर्ण क्रिकेट सिरिज जितेको छ। बिर्तामोडस्थित युनाइटेडको खेल मैदानमा सम्पन्न सिरिजको अन्तिम खेलमा घरेलु टोलीलाई ४३ रनले पराजित गर्दै विराटले उपाधि हात पारेको हो।

पहिले ब्याटिङ गरेको विराटले ९२ रन बनाउँदै युनाइटेडलाई ९३ रनको लक्ष्य दिएको थियो। लक्ष्य पछ्याएको युनाइटेड विराटका बलरहरूको कसिलो बलिङसामु टिक्न सकेन। युनाइटेड १४ ओभरमा ४९ रनमै अलआउट भएपछि विराटले फराकिलो जित निकालेको हो।

निर्णायक खेलमा उत्कृष्ट प्रदर्शन गरेका विराटका अन्डर–१३ खेलाडी निश्चल कोइराला ‘म्यान अफ द म्याच’ घोषित भए। युनाइटेड क्रिकेट एकेडेमीले पनि सिल्ड प्राप्त गरेको थियो।

तीन दिनसम्म सञ्चालन भएको छ खेलको सिरिजमा दुवै एकेडेमीका अन्डर–१३ र अन्डर–१५ उमेर समूहका गरी ३० युवा खेलाडी सहभागी थिए। युवा खेलाडीको खेल कौशल विकाससँगै प्रतिस्पर्धात्मक अनुभव र आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यले सिरिज आयोजना गरिएको थियो।

समापन कार्यक्रममा विराट क्रिकेट एकेडेमीका अध्यक्ष हरि बजगाईंले मैत्रीपूर्ण खेलले युवा खेलाडीको आत्मविश्वास बढाउन र उनीहरूको क्षमता निखार्न सहयोग पुग्ने बताए। उनले खेल आयोजना तथा व्यवस्थापनमा सहयोग गरेको भन्दै युनाइटेड क्रिकेट एकेडेमीका सञ्चालक एवं अध्यक्ष हितेन श्रेष्ठलाई धन्यवाद दिए।

बजगाईंले आगामी दिनमा पनि दुई एकेडेमीबीच यस्ता खेललाई निरन्तरता दिने बताए। नियमित अभ्याससँगै अन्य टोलीविरुद्ध खेल्ने अवसरले खेलाडीलाई आफ्नो प्रदर्शन सुधार्न मद्दत पुग्ने उनको भनाइ थियो।

यसैबीच, सिरिज सकेर विराटनगर फर्किने खेलाडी तथा अफिसियल टोलीलाई उनीहरू बसेको लालीगुराँस होटल एण्ड लजले खादा र माला लगाएर बिदाइ गरेको थियो। बसाइका क्रममा पाएको आतिथ्यता र सम्मानप्रति विराट क्रिकेट एकेडेमीले आभार व्यक्त गरेको छ।

View : 44

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved