ग्रामथान । मोरङको ग्रामथान-६ स्थित भरचोलगढीमा सम्पन्न तेस्रो मन्जिल स्मृति रानिगढी रनिङ कप फुटबल प्रतियोगिताको उपाधि आयोजक मन्जिल रानीगढी क्लबले जितेको छ ।
सोमबार सम्पन्न फाइनल खेलमा ब्ल्याक डायमण्ड एफसीलाई १-० गोलअन्तरले पराजित गर्दै आयोजक मन्जिल रानीगढी क्लबले उपाधि चुमेको हो ।
प्रतियोगितामा विजेता बनेसँगै आयोजकले ट्रफी, मेडल र प्रमाणपत्र सहित ५१ हजार रुपैयाँ हात पारेको छ । प्रतियोगिताको उपविजेता ब्ल्याक डायमण्ड एफसीले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद ३१ हजार रुपैयाँ पाएको छ ।
आयोजकलाई उपाधि दिलाउन दोस्रो हाफमा उमेश कार्कीले गरेको एक मात्र गोल निर्णायक बन्यो । फाइनल खेलको म्यान अफ दि म्याच आयोजकका अनिल राजधामी घोषित भए ।
प्रतियोगिता उत्कृष्ट खेलाडी आयोजकका अभिषेक मण्डल घोषित भए । त्यस्तै, सर्वाधिक गोलकर्ता आयोजकका अनिश राजधामी, उत्कृष्ट गोलरक्षक आयोजकका अर्जुन चौधरी, उत्कृष्ट फरवार्ड ब्ल्याक डायमण्डका हरि खवास, उत्कृष्ट मिडफिल्डर आयोजकका उमेश कार्की तथा उत्कृष्ट डिफेन्डर आयोजककै किरण चौधरी घोषित भए ।
प्रतियोगिताको विजेता तथा उपविजेता टोलीका खेलाडीलाई समापन समारोहका प्रमुख अतिथि ग्रामथान गाउँपालिकाका अध्यक्ष नमो नारायण माझी लगायत अतिथिहरूले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरे ।
कार्यक्रममा ग्रामथान गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष वीर नारायण चौधरी, सदस्य निलम सरदार, कोशी प्रदेश खेलकुद बिकास बोर्डका सदस्य तथा थारु कल्याणकारिणी सभा मोरङका जिल्ला सभापति प्रदिप भगत थारु, पूर्व राष्ट्रिय भलिबल खेलाडी नन्द कुमार सरदार, पूर्व राष्ट्रिय फुटबल खेलाडी देव नारायण चौधरी, प्रतियोगिताको मुख्य प्रायोजक तथा आयोजक क्लबकी उपाध्यक्ष उपकार मण्डल, आयोजक क्लबका कोषाध्यक्ष मनोज मण्डल लगायतको उपस्थिति रहेको थियो ।
समापन समारोह क्लबका अध्यक्ष कृष्ण कुमार मण्डलको अध्यक्षतामा सम्पन्न भएको हो । मन्जिल रानिगढी क्लबको आयोजनामा असोज १५ गतेदेखि सुरु भएको प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको क्लबकी उपाध्यक्ष उपकार मण्डलले बताउनु भयो ।
View : 28
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved