मोरङमा नयाँ औषधि उधोग
बुढीगंगा (मोरङ) – मोरङको बुढीगंगा–२ बाइपास सडकमा १०० करोड रुपैयाँको लगानीमा निर्माणाधीन औषधि उद्योग ‘एलेक्सा लाइफसाइन्सेज प्रालि’ अन्तिम चरणको तयारीमा पुगेको छ। विश्व स्वास्थ्य संगठन (WHO) को औषधि उत्पादन अभ्यास र अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालन हुन लागेको उक्त उद्योगलाई देशकै एक उत्कृष्ट फार्मास्युटिकल उद्योगको रुपमा विकास गरिने बताइएको छ।
उद्योगका अध्यक्ष दिनेश ठाकुरका अनुसार हालसम्म ७५ करोड रुपैयाँ लगानी भइसकेको छ भने बाँकी २५ करोड लगानी थपेर उद्योग सञ्चालनको तयारीमा छ। "सुरुबाटै चुनौती र अप्ठ्यारा धेरै आए, तर आत्मविश्वास र इमान्दार प्रयासले हामी आज यस चरणमा आइपुगेका छौँ," ठाकुरले बताए।
एभरेस्ट बैंक लिमिटेडको दुहबी शाखाबाट लिइएको वित्तीय सहायतासहित निर्माण भइरहेको यो उद्योगमा ठाकुर र रञ्जित भगत सह–सञ्चालकका रुपमा रहेका छन्।
उद्योगको उत्पादन योजना तीन चरणमा:
उद्योगले उत्पादनलाई तीन चरणमा विस्तार गर्ने योजना बनाएको छ।
पहिलो चरणमा जीवन रक्षाका लागि अत्यावश्यक मानिने स्लाइन पानी (Large Volume Parenterals – LVP), दोस्रो चरणमा १ एमएलदेखि २० एमएलसम्मका सुईहरू (Small Volume Parenterals – SVP), र तेस्रो चरणमा आँखा तथा कानको औषधि (Eye & Ear Drops) उत्पादन गरिने सञ्चालक रन्जित भगतले जानकारी दिए।
उनका अनुसार एलभीपी क्षेत्रमा हाल नेपालमा पूर्णरूपमा सञ्चालनमा रहेको केवल एक उद्योग रहेको छ भने अन्य १० वटा विदेशी कम्पनीका उत्पादन बजारमा छन्। एलेक्सा सञ्चालनमा आएपछि यो सम्भवतः नेपालको सबैभन्दा ठूलो र स्तरीय उद्योग हुने विश्वास व्यक्त गरिएको छ।
२ सय प्रत्यक्ष, ५ सय अप्रत्यक्ष रोजगारी सिर्जना हुने:
ठाकुरका अनुसार उद्योग सञ्चालनमा आएपछि २ सय जनाले प्रत्यक्ष र ५ सय जनाले अप्रत्यक्ष रोजगारी पाउनेछन्। साथै, विदेशी आयात प्रतिस्थापन गर्ने उद्देश्यसहित स्वदेशमै विश्वस्तरीय औषधि उत्पादन गरी सर्वसुलभ मूल्यमा नेपाली नागरिकको पहुँचसम्म पु¥याउने लक्ष्य राखिएको छ।
"स्लाइन जस्तो संवेदनशील औषधिको उत्पादनमा कुनै सम्झौता हुँदैन। यो सिधै रगतमार्फत शरीरमा प्रवेश गर्ने औषधि भएकाले यसको गुणस्तर सर्वोच्च हुनैपर्छ," उनले भने।
औषधि उद्योगमा नीति अभावको गुनासो:
नेपालमा औषधि उद्योग दर्ता भएका सयभन्दा बढी कम्पनीमध्ये करिब ७५ मात्र सञ्चालनमा छन्। तर तीमध्ये पनि २०–२५ कम्पनीको अवस्था मात्र सन्तोषजनक रहेको अध्यक्ष ठाकुर बताउँछन्।
उद्योग क्षेत्रको विकासका लागि सरकारले नीति तथा प्रोत्साहनको अभाव राखेको भन्दै उनले गुनासो व्यक्त गरे। "विद्युत् आपूर्तिको समस्या, कच्चा पदार्थमा भन्सार छुट नहुनु, विदेशी औषधिको खुला आयात, तथा बीमा प्रणालीको ढिलाइले उद्योगहरू थप संकटमा छन्," ठाकुरले भने।
उनका अनुसार स्वदेशी उद्योगले उत्पादन गर्न सक्ने औषधिमा विदेशी आयातमा प्रतिबन्ध लगाउने नीति आवश्यक छ। साथै, औषधि व्यवस्थापन विभागमा पर्याप्त जनशक्ति अभावका कारण अनुमतिपत्र र बजार अनुमतिका प्रक्रिया अत्यधिक ढिला हुने गरेको उल्लेख गरे।
सस्तो मूल्यमा गुणस्तरीय औषधि उपलब्ध गराउने लक्ष्य:
ठाकुरले नेपालमै गुणस्तरीय औषधि उत्पादन गरी सर्वसुलभ मूल्यमा सर्वसाधारणको पहुँचमा पु¥याउने र विदेशमा समेत निर्यात गर्ने लक्ष्य रहेको बताए। "यो उद्योग केवल व्यवसाय होइन, देश निर्माणमा लगानी हो," ठाकुरले भने।
उनले औषधि क्षेत्रमा समयानुकूल प्रविधि र पद्धति अपनाउँदै जाने प्रतिबद्धता जनाए।
View : 1443
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved