भानु जयन्ती विशेष
काठमाडौं — नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताबद्ध बनाउने ऐतिहासिक योगदानको स्मरण गर्दै २१२औँ भानु जयन्ती आज देश–विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ।
तनहुँको चुँदी रम्घा गाउँमा जन्मिएका भानुभक्तले संस्कृत भाषामा रहेको ‘रामायण’लाई नेपालीमा भावानुवाद गरेर आमजनतामा पुर्याए। यसै कारण उनलाई नेपाली भाषाका आदिकवि मानिन्छ। भौगोलिक रूपमा एकीकरण गरिएको नेपाललाई भाषाका माध्यमबाट एकताको सूत्रमा बाँध्ने काम उनले गरेका हुन्।
एक सामान्य घाँसीको ‘जन्मेपछि केही राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भन्ने उपदेशले प्रेरित भएर उनले नेपाली भाषामा रामायण सिर्जना गरेका थिए।
उनका कृति केवल रामायणमा सीमित छैनन्। ‘वधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’ जस्ता कृतिहरू पनि उत्तिकै चर्चित छन्। झ्यालखानामा बसेर सरकारी ढिलासुस्ती र भोलिवादको कटु आलोचना गर्दै उनले लेखेका पंक्तिहरू अझै जनस्तरमा चर्चित छन् —
‘भोलि–भोलि भन्दैमा सब घर बितिगो, बक्सियोस् आज झोली।’
उनले नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र सांस्कृतिक चेतना जगाउन ऐतिहासिक योगदान दिएका छन्। उनका कृतिहरूले नेपाली भाषा र साहित्यमा नयाँ युगको आरम्भ गरेको मानिन्छ।
यद्यपि, उनकोभन्दा अघि पनि नेपालीमा कविता लेख्नेहरू थिए भन्ने तर्क पनि साहित्यिक वृत्तमा उठ्ने गरेको छ। तर, रामायणजस्तो महत्वपूर्ण ग्रन्थलाई लोकलयमा भावानुवाद गरी भाषिक एकताको जग बसाल्ने काम भएकाले उनलाई आदिकवि मान्नु उचित ठहर गरिएको छ।
उनको निधनपछि पनि हरेक वर्ष भानु जयन्तीका अवसरमा काठमाडौँको रानीपोखरीस्थित शालिकमा माल्यार्पण र नगरप्रभातफेरी हुने परम्परा कायम छ।
घर–घरमा भानुभक्तको भावानुवादमा रहेको रामायण पाठ गरेर पनि आजको दिन मनाइँदैछ। भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषीको बाक्लो बसोबास भएका ठाउँमा पनि विविध कार्यक्रमका साथ जयन्ती मनाउने गरिएको छ।
भानुभक्तका कृतिबारे अध्ययन, समीक्षा र शोधकार्य समेत धेरै भएका छन्। भाषा, साहित्य र संस्कृतिमा काम गर्ने विभिन्न संस्थाहरूले आजको दिनलाई विशेष महत्वका साथ मनाउँदै छन्।
View : 79
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved